देउवा समूहद्वारा १५औँ महाधिवेशनको समानान्तर तयारी तीव्र: चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राई संयोजक तोकिए
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षीय समानान्तर तयारी तीव्र बनेको छ।
पूर्वसभापति शेरबहादुर देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा 'महाधिवेशन तयारी समिति' गठन गरी वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको छुट्टै कार्यतालिका सार्वजनिक गरेर आफ्ना गतिविधि अघि बढाएको हो।
देउवा समूहले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने गरी तालिका तय गरेको छ।
प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ मा वडा, असोज २० मा पालिका, असोज २३ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कात्तिक १५ मा जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गरिनेछ।
यसै क्रममा महाधिवेशन तयारी समितिले चितवन जिल्लामा संगठनात्मक गतिविधिलाई तीव्रता दिँदै जिम्मेवारी बाँडफाँड गरेको छ।
डा. शशांक कोइरालाद्वारा जारी मनोनयन पत्रअनुसार: चितवन क्षेत्र नं. २ संयोजक: जिल्ला तहका नेता-कार्यकर्ताको सुझाव र केन्द्रीय प्रतिनिधिको सिफारिसमा रचन कार्की मनोनित भएका छन्। भरतपुर महानगरपालिका संयोजक: तरुण दल चितवनका जिल्ला उपाध्यक्ष प्रमिश राईलाई जिम्मेवारी सुम्पिएको छ। देउवा समूहले महाधिवेशन तयारीका लागि देशैभर जिल्ला संयोजक तथा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिरहेको छ।
यता, नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि नै १५औँ केन्द्रीय महाधिवेशनको आधिकारिक निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेकाले दुई फरक कार्यतालिकाका कारण पार्टीभित्र अन्योल सिर्जना भएको छ। आगामी दिनमा दुवै पक्षबीच हुने सहमति वा आधिकारिक निर्णयले नै महाधिवेशनको अन्तिम दिशा तय गर्ने देखिन्छ।














प्रतिकृया दिनुहोस