ऐतिहासिक सुकेश्वर पोखरी सौन्दर्यकरणको नाममा करोडौँ लगानी, तर उपलब्धि देखिएन
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा भवानीपट्टीमा शुकदेव ऋषिको तपोभूमि रहेका कारण यो आफैँमा ऐतिहासिक तथा धार्मिक विशेषता बोकेको स्थान हो । यो स्थानको सम्बन्ध ऐतिहासिक मिथिला क्षेत्रका परापूर्वकालका राजा जनक र रामायणकालीन इतिहाससँग जोडिन्छ ।
सुकेश्वर महादेव मन्दिर र सुकेश्वर पोखरीको आफ्नै महत्त्व भएकाले परापूर्वकालदेखि नै धार्मिक चाडपर्व महाशिवरात्रि, साउन महिनाको सोमबार, विवाह पञ्चमी लगायतका पर्वमा यहाँ भक्तालु तथा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।
त्यही ऐतिहासिक मन्दिर र पोखरीको सौन्दर्यकरणका लागि प्रदेश सरकार र स्थानीय तहबाट गएको बजेट दुरुपयोग भएको आरोप स्थानीयवासीले लगाएका छन् । यसको सौन्दर्यकरणका नाममा २०७६/७७ सालदेखि नै बजेट विनियोजन हुँदै आएको छ । मन्दिरको जीर्ण भौतिक पूर्वाधार निर्माण तथा ऐतिहासिक पोखरीको घाट निर्माणदेखि चारैतिर पक्की सिँढीसहित घाट निर्माण, शौचालय, धर्मशाला बनाउने लगायतका कामका लागि बजेट परे पनि अधिकांश काम अलपत्र अवस्था छन् ।

पोखरीको चारैतिर पक्की घाट निर्माण हुने भने पनि ६ वटा घाट निर्माणमात्र गरिएको छ । त्यो पनि घाटको सिँढी प्रयोग गर्न कठिन हुने गरी साइज बिगारिएको छ ।

स्थानीय ७३ वर्षीय उमेश तिवारीले भने, ‘यो पूरै पोखरीको चारैतिर पक्की घाट निर्माण हुने भनिएको थियो । ५/६ वटा घाटमात्र निर्माण गरिएको छ । त्यो पनि प्रयोग गर्न कठिनाइ छ । घाट भएर पोखरीभित्र गयो भने निस्कनै मुस्किल पर्छ ।’
शौचालय निर्माण पनि अधुरो अवस्थामै रहेको उनको भनाइ छ । ‘बजेट आयो, काम सुरु भयो भन्यो तर अहिले हेर्दा केही काम भएकै छैन । सबैले बाँडीचुँडी खाएका त होलान्,’ उनले भने ।

तिवारीले पोखरी छेउकै अत्याधुनिक तवरले निर्माण गरिएको भवन तत्कालीन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बनाएको बताए । कायस्थकै अगुवाइमा यो मन्दिर र पोखरी सौन्दर्यकरणका लागि प्रदेशबाट बजेट छुट्ट्याई काम भएको भनिए पनि अहिले सबै अधुरो अवस्थामै रहेको उनको भनाइ छ ।
स्थानीयवासीका अनुसार ०७८ सालमा प्रदेश सरकारबाट मन्दिर र पोखरीको सौन्दर्यकरणको नाममा १ करोड ६८ लाखको बजेट परेको थियो । तर त्यो बजेटबाट भएको काम खासै नदेखिएको उनीहरूको भनाइ छ ।

केही घाट निर्माण भए पनि धर्मशालाका लागि बनाइएको सेड जीर्ण अवस्थामा पुगेको छ । निर्माण गर्ने भनिएको शौचालयमा पनि ठुलाठुला बिरुवा उम्रिएर झाडीमा परिणत भएको छ ।
स्थानीयवासीका अनुसार पोखरी सौन्दर्यकरण अन्तर्गत पोखरीको किनारमा हरियाली पार्क, बस्नका लागि बेन्च, रात्रिकालीन समयमा उज्यालोका लागि सडक बत्ती तथा सोलार लाइट जडान गर्ने योजना थियो । ती सबै कुरा कागजमै सीमित भएको स्थानीय बताउँछन् ।

तिवारीले भने, ‘प्रदेश सरकारको त्यतिबेलाको १ करोड ६८ लाख बजेटबाट योजना मुताबिक काम भएको भए अहिले यो स्थानको मुहार नै फेरिसक्थ्यो । काम पूरा नहुँदा बजेट खर्च गरेर बनाइएका केही संरचनाको पनि कुनै अर्थ रहेन ।’
अर्का स्थानीय सन्तोष चौधरीले पोखरीको घाटको चौडाइ १२ इन्चको मात्र रहेको बताउँदै भने, ‘घरको सिँढी पनि यति सानो हुँदैन । पोखरीको घाटको स्टेप १२ इन्चको बनेको छ । त्यसमा मान्छे कसरी बस्ने ?’

घाटको स्टेप कम्तीमा अढाई देखि ३ फिटको हुनुपर्ने उनको भनाइ छ । ‘अनि पो यहाँ बसेर मान्छेले स्नान गर्न सक्छ,’ उनले भने ।
संरचना बनाउने बेलामै स्थानीयले यसबारे ध्यानाकर्षण गराएको चौधरीले सुर्ना । ‘यसरी घाट निर्माण गर्नुभन्दा पनि पोखरीको एउटा कुना समातेर चारैतिर अलि चौडा पारेर ३/४ वटा घाट ढलान गरिदिन आग्रह गरेका थियौँ, तर हाम्रो कुरा नसुनी आफूखुसी बनाइदिए । यसमा भएको लगानी खेर गएको जस्तो भएको छ,’ उनले भने, ‘यो काममा धेरै रकम घोटाला भएजस्तो छ ।’

यो पोखरी कहिले र कसरी उत्खनन भयो भन्ने यकिन नभएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी छेनी पासवानले उद्यान बनाउने, पानीको फोहोरा लगाउने, पोखरीको एक कुनामा मुर्दा जलाउने घाट बनाउने लगायतका विषय उल्लेख भए पनि निर्माण हुन नसकेको सुनाए । ‘पोखरीको चारैतिर पक्की घाट, शौचालय लगायतका काम पनि अधुरो अवस्थामा छ,’ उनले भने, ‘हामी बुढाबुढी भयौँ । जागरुक वर्गले ध्यान नदिँदा पनि यसको संरक्षण र सम्बर्द्धन हुन सकेको छैन ।’
उनका अनुसार काम गर्दागर्दै बिचमै ठेकदार भागेकाले उनीहरूको केही सामान यतै फालिएको अवस्थामा रहेको छ ।

पोखरीसँगै रहेको सुकदेव महादेव मन्दिरका पुजारी हरिकान्त चौधरीले यो स्थान ऐतिहासिक रहे पनि उपेक्षामा परेको बताए । ऐतिहासिक तथा धार्मिक धरोहर रहे पनि सरकारले यसको संरक्षणमा ध्यान नदिएको गुनासो गर्दै उनले भने, ‘यहाँ काम नै नभएको त हैन, तर निर्माण भएका संरचना पनि अधुरो छन् । निर्माण भएको थोरबहुत पूर्वाधार भत्किएको, खिया लागिसकेको अवस्था छ ।’
सरकारले बजेट छुट्ट्याउने, लगानी गर्ने, तर त्यो निर्माण भयो कि भएन भनेर अनुगमन नगर्नाले लगानी भएको रकम दुरुपयोग भएको चौधरीले बताए ।
प्रदेश सरकारसँगै जलेश्वर नगरपालिकाले पनि यसको सौन्दर्यकरणको काममा विगतका विभिन्न आर्थिक वर्षमा पटक–पटक टुक्रे बजेट खर्च गरेको छ । स्थानीयवासीहरूका अनुसार यस्तो ऐतिहासिक तथा धार्मिक क्षेत्रमा हुने लगानी सदुपयोग भयो कि भएन भनेर विशेष निगरानी गर्नुपर्नेमा त्यसो नहुँदा अहिले यो पोखरी झाडी क्षेत्रमा परिणत भएको हो ।rato pati














प्रतिकृया दिनुहोस