दोधारा–चाँदनीवासीले फेरि सम्झिए पुराना दिन
धनगढी । बुधबार बिहान महाकाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको खबर फैलिँदा कञ्चनपुरस्थित दोधारा–चाँदनीका बासिन्दा एकाएक झस्किए।
महाकालीमा ठूलो बाढी आएको थिएन। लामो समयदेखि स्थानीयको दैनिक आवतजावतको आधार बनेको पुलको करिब २५ प्रतिशत भाग क्षतिग्रस्त भएको देखेपछि स्थानीयमा चिन्ता बढेको छ।
पुलमा क्षति पुगेसँगै दोधारा–चाँदनीवासीले पुल नहुँदाको पुरानो कष्टकर समय सम्झिएका छन्। अहिले पक्की सडक र चार लेनको पुल बनेर आवतजावत सहज भए पनि यो झोलुङ्गे पुल स्थानीयका लागि अझै महत्त्वपूर्ण सम्पर्क मार्ग हो।
पुल नबन्दाको समयमा दोधारा–चाँदनीका बासिन्दालाई आफ्नै जिल्लाको सदरमुकाम महेन्द्रनगर पुग्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। स्थानीयका अनुसार त्यतिबेला नेपालतर्फबाट आवतजावत सहज थिएन। दैनिक उपभोग्य सामग्रीदेखि उपचार र अन्य आवश्यक कामका लागि समेत भारतमै निर्भर हुनुपर्थ्यो।
दोधारा–चाँदनीका हरिस भट्ट ती दिन अझै सम्झन्छन्। उनका अनुसार महाकाली, जोगबुडा नदी र विभिन्न खोलानालाले घेरिएको बस्तीबाट महेन्द्रनगर पुग्न निकै कठिन थियो। उनले भने, ‘त्यतिबेला महेन्द्रनगर जानुपर्यो भने भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो। वर्षायाममा झन् समस्या हुन्थ्यो। अहिले पुलमा क्षति पुगेको देख्दा फेरि त्यही समयको सम्झना आएको छ।’
उनका अनुसार दोधारा–चाँदनीमा बस्ती विस्तार हुन थालेको लामो समयसम्म यहाँको दैनिकी भारतीय बजारसँगै जोडिएको थियो।
अर्का स्थानीय रनवीर ठगुन्नाका अनुसार २०२२ सालतिर दोधारा–चाँदनीमा बस्ती बस्न थालेको थियो। त्यसबेला नेपालतर्फ सहज सम्पर्क नहुँदा महेन्द्रनगर आउन भारतको बनबासा हुँदै घुमेर आउनुपर्ने अवस्था थियो।
२०५८ सालमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि भने दोधारा–चाँदनीवासीको दैनिकीमा ठूलो परिवर्तन आयो। पुल सञ्चालनमा आएपछि नेपालतर्फको आवतजावत सहज भयो। बजार, शिक्षा, स्वास्थ्य र अन्य सेवाका लागि महेन्द्रनगर पुग्न सजिलो भयो।
पुलसँगै स्थानीय व्यापार–व्यवसायले पनि गति लिएको उमादेवी सिंह बताउँछिन्। पुल निर्माण भएपछि मानिसको आवतजावत बढेको र बजारमा चहलपहल थपिएको उनको अनुभव छ। उनले भनिन्, ‘पुल बनेपछि मानिसहरू आउन थाले, व्यापार पनि बढ्यो। पर्यटकहरू पनि आउँथे। अहिले पुलमा क्षति पुगेपछि हामीलाई आजैदेखि समस्या परेको छ, यसको छिटो मर्मत हुनुपर्छ।’
झोलुङ्गे पुल आसपासका व्यवसायी अहिले पुनः आवतजावत घट्ने चिन्तामा छन्। पुल हुँदै आवतजावत गर्ने स्थानीय, पर्यटक तथा अन्य यात्रुकै कारण सञ्चालनमा रहेका साना पसलहरूको व्यापार पुलको अवस्थासँग प्रत्यक्ष जोडिएको छ।
पछिल्ला वर्षहरूमा भने दोधारा–चाँदनीको पूर्वाधारमा उल्लेख्य परिवर्तन आएको छ। मुख्य सडकहरू कालोपत्रे भएका छन्। विभिन्न नदी तथा खोलामा पक्की र झोलुङ्गे पुल निर्माण भएका छन्। महाकाली नदीमाथि बनेको चार लेनको पक्की पुलले पनि दोधारा–चाँदनीलाई देशका अन्य भूभागसँग जोड्ने अर्को सहज मार्ग दिएको छ।
यद्यपि, पुरानो झोलुङ्गे पुलको उपयोगिता अझै सकिएको छैन। बस्ती, बजार र नदी किनारका क्षेत्रलाई जोड्ने स्थानीय सम्पर्क मार्गका रूपमा यो पुल प्रयोग हुँदै आएको छ।
त्यसैले पुलमा क्षति पुग्दा स्थानीयले तत्कालको आवतजावतमा परेको असरसँगै विगतमा भोगेको कठिनाइ पनि सम्झिएका हुन्। यो पुल पर्यटकको एक प्रमुख आकर्षण केन्द्र बन्दै आएको थियो र यसलाई हेर्न आउनेहरूको सङ्ख्या पनि धेरै हुन्थ्यो।
क्षतिग्रस्त पुलको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसहित प्रदेश सरकारको टोलीले स्थलगत निरीक्षण गरेको छ। टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐरलगायत सहभागी थिए। सत्ता साझेदार नेकपा एमालेका नेता राजेन्द्रसिंह रावलले पनि पुलको अवस्थाबारे जानकारी लिएका छन्।
निरीक्षणपछि मुख्यमन्त्री भट्टले पुलको प्राविधिक अध्ययन गरी सङ्घीय सरकारबाट आउने प्रतिक्रियाका आधारमा अघि बढ्ने बताएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री भाटले दोधारा–चाँदनीलाई नेपालसँग जोड्न यस पुलले मुख्य मार्गको भूमिका खेलेको उल्लेख गर्दै सङ्घीय सरकारको समन्वयका आधारमा काम अघि बढाउने र आवश्यक परे प्रदेश सरकारले समेत निर्माण तथा मर्मतका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐरले पर्यटकीय क्षेत्रका रूपमा समेत चिनिएको स्थानको पुलमा क्षति पुग्नु दुःखद भएको बताइन्। प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरेर मर्मतका लागि पहल गर्ने उनको भनाइ छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पनि पुलको काम छिटो अघि बढाउन आवश्यक सहयोग र समन्वय गर्ने बताएका छन्।
दोधारा–चाँदनीको वडा नम्बर १ मा अहिले सुक्खा बन्दरगाह निर्माणको काम पनि अघि बढिरहेको छ। सडक, पुल, सिँचाइ तथा अन्य पूर्वाधार थपिँदै जाँदा कुनै समय भारतको बाटो र बजारमा पूर्ण रूपले निर्भर रहेको यहाँको दैनिकी क्रमशः बदलिँदै गएको छ।
अहिलेको समयमा पनि झोलुङ्गे पुलको आवश्यकता र महत्त्व उत्तिकै रहेकाले दैनिक आवतजावत र पर्यटकीय गतिविधिका लागि यो नभई नहुने पूर्वाधार हो। त्यसैले, यथाशीघ्र पुल मर्मत गरिदिन स्थानीयले आग्रह गरेका छन्।ratopati













प्रतिकृया दिनुहोस