मातृभूमिको पीडामा प्रवासबाट आवाज :: नेपालमा बाढीपीडितका लागि अमेरिकी सहयोगको आग्रह
अमेरिका । प्रवासमा रहेर पनि आफ्नो मातृभूमि नेपालको सुख–दुःखमा निरन्तर चासो र सहयोगको पहल गर्दै आएका नेपाली मूलका जनक राज कँडेलले नेपालमा पछिल्लो समय देखिएका बाढी तथा विपद्का कारण भएको क्षतिप्रति अमेरिकी सरकार र अमेरिकी जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन्।
Citizen Climate Lobby, Greenville, South Carolina को तर्फबाट जनक राज कँडेलका छोरी सजल र छोरा श्लोकले अमेरिकी कंग्रेस सदस्यहरू तथा विधायकहरूलाई लिखित अनुरोधपत्र बुझाउँदै वातावरण संरक्षण, स्वच्छ ऊर्जा (Clean Energy) प्रवर्द्धन तथा जलवायु परिवर्तनका कारण बढिरहेका प्राकृतिक विपद्का विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
अनुरोधपत्रमा वातावरण विनाश र जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकहरूले भोग्नुपरेका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का प्रभावबारे उल्लेख गर्दै नेपालमा भएको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट मानवीय सहयोग तथा आवश्यक सहकार्य उपलब्ध गराउन पहल गर्न आग्रह गरिएको छ।
पोखरा, बेगनासलाई आफ्नो मातृभूमिसँग जोडेर हेर्ने जनक राज कँडेलले विदेश
मा रहे पनि नेपालप्रतिको माया र जिम्मेवारीलाई निरन्तरता दिँदै विपद्को समयमा सहयोगका लागि आवाज उठाएका हुन्। उनका सन्तानले समेत नेपालको विपद्का विषयमा अमेरिकी नीति–निर्मातासमक्ष आवाज पुर्याउनु प्रवासमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको भावनासँग जोडिएको पहलका रूपमा देखिएको छ।
कँडेलका अनुसार अमेरिकी जनप्रतिनिधिहरूले नेपालमा परेको विपद् र वातावरण संरक्षणको विषयलाई सकारात्मक रूपमा लिएको र वातावरण संरक्षण तथा जलवायु सचेतनाका लागि र्यालीसहितका कार्यक्रममार्फत आवाज उठाउने जानकारीसमेत दिएका छन्।
नेपालमा प्राकृतिक विपद्का कारण नागरिकको जनधनमा क्षति भइरहेका बेला प्रवासमा रहेका नेपालीहरूले आफ्नो व्यक्तिगत तथा संस्थागत पहुँचमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु महत्वपूर्ण मानिन्छ। वातावरण संरक्षण, स्वच्छ ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँगै विपद्पछिको मानवीय सहयोगका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको सन्देश यस पहलले दिएको छ। परदेशमा बसाइ भए पनि मातृभूमिको पीडामा साथ दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै जनक राज कँडेल परिवारले नेपालका लागि सहयोगको अपिल गरेका छन्।














प्रतिकृया दिनुहोस